२ नं प्रदेशमा चार भाषामा शपथ – मैथिली ४७, भोजपुरी २५, नेपाली २४ र हिन्दी ११

द्वारा : सुदुर न्युज
जनकपुरधाम : प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्यले आइतबार जनकपुरमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित शपथ ग्रहण समारोहमा आठ जिल्लाका एक सय सात सांसदले आ– आफ्नो मातृभाषामा पद तथा गोपनियताको सपथ लिएका हुन्। प्रदेश २ का सांसदले विभ्नि चार भाषामा शपथ लिएका छन्।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका जेष्ठ सदस्य ७६ वर्षीय लगनलाल चौधरीलाई नेपाली भाषमा शपथ ग्रहण गराएपछि चौधरीले सभाका अन्य एक सय ६ सदस्यलाई शपथ खुवाएका हुन्। चौधरी सिरहा निर्वाचन क्षेत्र नम्बर १ र्को क’ बाट प्रदेश सभामा एमालेका विधायक हुन्। चौधरीले सपथ ग्रहण नेपालीमा गरे पनि अन्य सदस्यले आ आफ्नो मातृभाषमा शपथ ग्रहणको व्यवस्था हुनुपर्ने दबाव दिदैँ केहीबेर हो हल्ला गरेका थिए।

समारोहका सञ्चालक धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले प्रत्येक सदस्यले आ–आफ्नो मातृभाषामा शपथ खान पाउने व्यवस्था रहेको उल्लेख गर्दै सोही बमोजिम गरिए पनि शपथ पत्र नेपालीमा लेखिएको हुनाले त्यसमै सही गर्न सबै सदस्यलाई अनुरोध गर्दा सांसद अझ बढी आक्रोशित भएका थिए।

राजपाकी सांसद डिम्पल झाले भनिन्, ‘हामीले आफ्नो भाषा र पहिचानको लागि लामो संघर्ष पश्चात आज यो दिन हेर्न पाएका छौं। त्यसैले आफ्नो पहिचान र मातृभाषामा लेखिएको शपथ पत्रमा मात्र सही गरेर सोही अनुसार शपथ लिन्छौँ।’ राजपा र संघीय समाजवादी फोरमका अधिकांश सांसदले मातृभाषामा शपथ पत्र लेखिनुपर्ने माग गरेपछि करिब दश मिनेट विवाद भएको थियो। तर, निर्वाचन आयोगका पदाधिकारी, प्रदेश प्रमुखको सहमतिमा नेपालीसहित मैथिली, भोजपुरी, हिन्दी भाषामा समेत शपथपत्र आफैंले लेखेर हस्ताक्षर गरी शपथ लिन सकिने सहमति भएपछि सोही अनुसार सांसदहरुले शपथ वाचन गरेका थिए।

एक सय ७ सदस्य मध्ये मैथिली भाषामा ४७, भोजपुरीमा २५, नेपालीमा २४ र हिन्दीमा ११ जनाले सपथ लिएको प्रमुख जिल्ला अधिकारी चापागाईले जानकारी दिए।

कार्यक्रमको समापनमा प्रदेश प्रमुख कायस्थले यस प्रदेशको पहिलो अधिवेशन माघ २१ गते जनकपुरको शैक्षिक तालिम केन्द्रको सभाकक्षमा दिनको ११ बजेदेखि सुरु हुने घोषणा गरे। उनले भने, ‘यो एतिहासिक समारोह हो र अब यहाँबाट शपथ खाएर निस्केपछि सबै सांसदज्यूहरुले प्रदेश नम्बर दुईको विकास र स्थायित्वका लागि आ आफ्नो तर्फबाट काम अघि बढाउनु होला, शुभकामना छ।’

हतार हतारमा तय गरिएको कार्यक्रममा थुप्रै त्रुटिहरु पनि भएको थियो। कार्यक्रममा सहिदको सम्मानमा एक मिनेट मौन धारणा गर्न समेत नभनिएपछि संघीय समाजवादी फोरमको तर्फबाट धनुषाका प्रदेश सभा सदस्य रामअशिष यादवले उठेर आपत्ति जनाउँदै मौन धारण गराउन सञ्चालकलाई ध्यानाकर्षण गराएका थिए। सभाको समाप्तिमा हुन लागेको अवस्थामा विधायकले भनेपछि शहिदको स्मरणमा मौन धारण गराइएको थियो। कार्यक्रम सञ्चालक चापागाईले भने, ‘अहिले सुरुवाती अवस्था छ, हामी गर्दै जाने र सिक्दै जाने क्रममा छौँ।’

शपथ ग्रहण समारोहमा सहभागी हुनु पूर्व प्रदेश सभा सदस्यहरुको घुंइचो जानकी मन्दिरमा दर्शनको लागि लागेको थियो। प्रदेश प्रमुख कायस्थ पनि जानकी मन्दिर पुगेर विशेष पुजाअर्चना गरेर मात्र शपथ ग्रहण समारोहमा पुगेका थिए। कार्यक्रम १० बजेको लागि निर्धारित गरिएपनि ४५ मिनेट ढिलो सुरु भएको थियो। सपथ ग्रहण समारोहलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। शपथ ग्रहण स्थलमा मात्र सांसद तथा अधिकारीक रुपमा आमन्त्रण पाएकालाई मात्र परिचय पत्र हेरेर प्रवेश गर्न दिइएको थियो।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com