41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

भारतमा मोदीको पुनरागमन कूटनीतिमा फेरबेदल नहुने विश्वास

काठमाडौँ, जेठ ११ गते ।

भारतमा भारतीय जनता पार्टी (भाजपा) को जितले अहिले अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर विभिन्न बहस सुरु भएको छ । भाजपाका नेता नरेन्द्र मोदी दोस्रो पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा आउन लागेको भन्दै उसको छिमेकी राष्ट्रसँग कस्तो सम्बन्ध हुने विश्लेषण हुन थालेका छन् ।
भाजपा हिन्दु राष्ट्रवादी पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन भइरहेको छ भने अर्कोतिर भारतले अर्थ नीति कस्तो लिने हो त्यसको बारेमा पनि बहस सुरु भएको छ । यद्यपि विगत डेढ वर्षमा नेपाल–भारतको बीचमा निकै राम्रो सम्बन्ध सुधार भएको त्यहाँका विदेशमन्त्री सुषमा स्वराजले नै भन्नुभएको छ ।
विश्वको अर्थ राजनीतिको प्रतिस्पर्धामा चीन, अमेरिका, जापानलगायत देशसँगको दौडमा भारतले आफूलाई पनि उभ्याएको छ । आउने दिनमा यी देशहरुसँग उसको के सम्बन्ध रहन्छ, त्यसको बारेमा पनि विश्लेषणहरु सुरु भएको छ । भारत नेपालको सबभन्दा नजिकको छिमेकी देश भएका हुनाले उसले लिने नीतिले नेपाललाई प्रभाव पार्न सक्ने विश्लेषकहरु बताउँछन् ।
यद्यपि भारतले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा तत्कालै कुनै फेरबेदल नगर्ने, पुरानै नीतिलाई निरन्तरता दिने विदेश मामिलाका जानकारहरू बताउँछन् । भारतमा मोदीको पुनः आगमनले नेपालको कूटनीति, राजनीति तथा अर्थ राजनीतिमा कस्तो प्रभाव पार्लालगायतका विषयमा केही विदेश मामिलाका जानकारहरूसँग कुराकानी ः

मोदी आगमनले प्रभाव पर्दैन
प्राडा लोकराज बराल, परराष्ट्रविद्
प्रधानमन्त्री नरेन्द्र मोदीको पुनः आगमनले नेपालको राजनीतिमा कुनै प्रभाव पार्दैन । प्रधानमन्त्री मोदी पुनः आउनु भएको कारणले हिन्दुवादीहरुमा केही उत्साह बढेको होला तर त्यो पनि हुँदैन हिन्दुको एजेन्डा इमोसनल एजेन्डा भएकाले हुनाले त्यो त्यति दीर्घकालीन हुँदैन । हिन्दु राष्ट्रका लागि यो देशका दलहरुले पनि तयार हुनुपर्छ भारत वा अरु कसैले भनेर मात्र हुँदैन तर त्यस्तो अवस्था यहाँ देखिएको छैन । कमल थापाको पार्टीबाहेक अरु दलले हिन्दु राष्ट्रका बारेमा सोचेका पनि छैनन् ।
त्यसै पनि नेपालमा धर्म निरपेक्षता कागजमा मात्र सीमित छ । देश धर्म निरपेक्षतामा गए पनि यहाँ सबै हिन्दु छन् । हिन्दुसँग सम्बन्धित कुनै काम रोकिएको छैन । हिन्दुका हरेक गतिविधि जस्ताको त्यस्तै छ । त्यसैले हिन्दु राष्ट्र हुनु नहुनुमा कुनै फरक पर्दैन । भाजपाले कम्युनिस्ट नरुचाउने कुरा पनि आइरहेको छ तर नेपालमा कम्युनिस्ट छँदैछैन । भाजपाले यहाँका कम्युनिस्टलाई केही गर्न सक्दैन । अहिलेका सबै कम्युनिस्ट नेतासँग प्रधानमन्त्री मोदीले काम गरिसक्नु भएको छ । उहाँहरुको सबै गतिविधि उहाँलाई राम्रोसँग थाहा छ । त्यसैले नेपालमा कम्युनिस्ट शासनले भारतलाई कुनै टाउको दुखाइको कुरा रहँदैन । भारतले नेपालसँग कस्तो सम्बन्ध राख्छ, त्यसमा नेपालको गतिविधिले फरक पार्छ । आगामी दिनमा नेपालको काम गराइको तरिका कस्तो हुन्छ त्यसमा भर पर्छ । यदि भारतलाई चिढाउने वा गिज्याउने खालका कामहरु भयो भने भारत पनि चुप लागेर बस्दैन । यद्यपि भारतको कूटनीति तथा रणनीतिमा कुनै फेरबेदल ल्याउने छैन ।

सम्बन्धमा थप सुधार हुँदै जानेछ
डा. राजन भट्टराई, परराष्ट्र मामिला सल्लाहकार, प्रधानमन्त्रीको कार्यालय
भारतका लागि नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने पक्कापक्कीजस्तो भएको छ । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तर्फबाट बधाई तथा अर्को कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । सो क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ शिराबाट उचाइमा लग्ने दुवै प्रधानमन्त्रीबीच कुरा भएको छ । पछिल्लो समय नेपाल–भारतबीचको सम्बन्धमा धेरै सुधार भएको छ । त्यसैले आगामी दिनमा दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सुधार हुँदैजाने विश्वास गर्न सकिन्छ ।
अर्थतन्त्रको हिसाबले पनि भारत विश्वको एउटा उदीयमान देश हो । त्यहाँको गरिबी अन्त्य र आर्थिक वृद्धि दरमा तीव्र फड्को मारिरहेको यस परिवेशमा नेपाल भौगोलिक हिसाबले सबैभन्दा नजिकको छिमेकी देश भएकाले भारतको आर्थिक विकाससँगै नेपालमा पनि त्यसको सकारात्मक प्रभाव पर्ने नै छ । भारतको आर्थिक समृद्धिको लाभ प्रत्यक्ष, अप्रत्यक्ष तथा परोक्षरुपले नेपाललाई हुने प्रस्टै देखिन्छ ।
सोहीअनुसार भारत जनसङ्ख्याको हिसाबले विश्वको दोस्रो ठूलो देश हो । त्यहाँको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वले दक्षिण एसियाली मुलुकमा पनि त्यसको सकारात्मक प्रभाव पर्नेछ । दक्षिण एसियाली मुलुकको एउटा मियो शक्तिको रुपमा रहेको भारतको राजनीतिक, आर्थिक तथा कूटनीतिक प्रभावको फाइदा दक्षिण एसियाली मुलुकलाई पनि हुने सहजै विश्वास गर्न सकिन्छ ।

अहिले चाहेर पनि कसैले केही गर्न सक्दैन
हरि रोक्का, अर्थ–राजनीतिक विश्लेषक
भारतमा भाजपा सरकार शक्तिशाली भएर आए पनि नेपालका लागि खासै कुनै फरक पर्दैन । तर विश्व बजारसँग भारतको कस्तो सम्बन्ध हुन्छ । उसले ती देशसँग कस्तो सम्बन्ध राख्छ त्यसले नेपाललाई फरक पार्न सक्छ । अहिले विश्वमा ‘ट्रेड वार’ चलिरहेको छ । खासगरी त्यो वारमा चीन र अमेरिका देखिएको छ । तर, अब चीन र अमेरिका मात्र छैन । भारतले पनि आफूलाई सहभागी गराएको छ । ट्रेड वारका कारण निर्यात प्रवद्र्धन प्रभावित भएको छ । जसले गर्दा जनबरीदेखि अप्रिलसम्ममा मात्र भारतको उत्पादन माइनस २ मा पुगेको छ । रोजगार प्रवद्र्धनमा असर पुगेको छ । यदि भारतले चीनसँग सम्बन्ध सुधार गरेर अर्थ–राजनीति सुधार गर्नेतिर गयो भने त्यसले हामीलाई पनि फाइदा हुन्छ । भारतले कस्तो खालको नीति लिन्छ, ऊ चीनसँग मिलेर काम गर्छ कि अमेरिकासँग काम गर्छ त्यसले नेपालसँग सम्बन्धमा असर गर्छ । अमेरिकाले यदि इरानसँग तेल नकिन, चीनसँग कुरा नगर, यस्तो नगर, उस्तो नगर भारतलाई भन्यो भने त्यसको प्रभाव नेपाललाई पनि पर्न सक्छ । त्यस्तै, अहिले भारत एन्टी चाइन, एन्टी रसियन, एन्टी इरानियन भयो भने नेपाललाई असर गर्न सक्छ ।
तर भारतले सिधै नेपालसँग कुनै खेलबाड गर्न सक्दैन । किनभने यहाँ स्थायी र बलियो सरकार छ । यहाँ कुनै प्रकारको चलखेल गर्न सक्दैन । सरकारमा रहेका दलले नचाहेसम्म कसैले यहाँ कुनै प्रकारको चलखेल गर्न सक्दैन । संयुक्त सरकार भएको भए, एउटालाई हटाउने अर्कोलाई राख्ने कुरा हुनसक्थ्यो तर अहिले एउटा दलको बहुमतको सरकार रहेको छ । यदि त्यही दलको बीचमा टुटफुट अविश्वास भयो भने चलखेल हुनसक्छ नभए अहिले कसैले चाहेर पनि केही गर्न सक्दैन ।

दुई पक्षमा समीक्षा हुनु आवश्यक छ 
डा. दीपक भट्ट, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य
भारतमा नयाँ सरकार गठन भएसँगै नेपालसँगको सम्बन्ध पनि नयाँ उचाइमा पुग्छ भने विश्वास लागेको छ । अहिले पनि विगतमा दुई देशको बीचमा जुन सम्बन्ध थियो त्यसमा सुधार आएको छ । आगामी दिनमा अब कसरी अगाडि बढ्छ, त्यसमा दुई पक्षले समीक्षा गरेर अगाडि बढ्नुपर्छ । भारतले पनि पुरानै कुरालाई लिएर नेपालसँग सम्बन्ध अगाडि बढाउन चाह्यो भने त्यो पनि हुँदैन । त्यसैले विगतमा भएका कमी कमजोरीलाई कसरी सुधार गर्न सकिन्छ । त्यसमा समीक्षा गरेर अगाडि बढ्नुपर्छ । नेपाल पनि समृद्धिका लागि अगाडि बढेको छ । आफ्नो क्षमताले नयाँ ढङ्गबाट देशलाई अगाडि बढाउने कोसिसमा लागेको छ । भारत पनि विकासका विभिन्न एजेन्डा लिएर अगाडि बढेको छ । यस अवस्थामा दुवै देशले मिलेर एक अर्कालाई सहयोग गरेर अगाडि बढ्दा राम्रो हुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी पाँच वर्षको एउटा कार्यकाल पूरा गरिसक्नु भएको हुनाले आगामी दिनमा विगतको अनुभवका आधार पनि भारतले छिमेकीसँग सम्बन्धलाई सुधार गर्दै जान्छ भनी विश्वास गर्न सकिन्छ । अहिले नै भारतले यो गर्छ, त्यो गर्छ भन्न मिल्दैन । नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शपथ खानु भएको छैन । मन्त्रिपरिषद् गठन भएको छैन । विदेशमन्त्री को हुने हो त्यसको पनि टुङ्गो लागेको छैन । त्यसैले भारतले के गर्छ त्यसमा अहिले नै अनुमान लगाउनु हुँदैन ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles