26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

चीनमा नेपाली विद्यार्थी उत्कृष्ट

असार १६, २०७४-

चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’अन्तर्गत विभिन्न इन्स्टिच्युटमा अध्ययन गरेर पिएचडी गरेका पाँचजना नेपाली विद्यार्थीले उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् । विज्ञान विषयमा चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’चीनकै सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्था हो । चीनभरिमा यसका सयौँ इन्स्टिच्युटहरु रहका छन् ।
युकासको बेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पिएचडी गरेका बसन्त पौडेलले तीनवटा अवार्ड हात पारेका छन् । उनले युकासका चिनियाँ तथा विदेशी सबै विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गरी एक्सलेन्ट ग्राजुएट अवार्ड प्राप्त गरेका हुन् । सन् २०१७ मा यो अवार्ड प्राप्त गर्ने उनी एक मात्र विदेशी विद्यार्थी हुन् । त्यसैगरी उनले डाइरेक्टर स्कलरसिप अवार्ड र एक्सलेन्ट प्रेजेन्टेसन अवार्ड पनि जितेका छन् । पौडेलले नेपालको कृषि जमिनमा जलवायु परिवर्तनका असरमा पिएचडी गरेका हुन् । पौडेल सन् २०११ मा त्रिविबाट भूगोलमा गोल्डमेडलिस्ट पनि हुन् ।

 

पौडेलसँगै एउटै समूहमा पिएचडी सकेका अन्य चार नेपाली विद्यार्थी पनि उत्कृष्टमा परेका छन् । युकासकै चीनको सिचुवान प्रान्तको छन्दू इन्स्टिच्युट अफ बायोलोजीबाट जीवविज्ञानमा पीएचडी सकेका जनकराज खतिवडा यो शैक्षिक सत्रमा चीनमा पढ्ने विदेशी विद्यार्थीमध्ये उत्कृष्ट पाँचमा परेका छन् । उनले पिएचडीको अनुसन्धानका क्रममा भ्यागुताका दुईवटा नयाँ प्रजातिहरु पत्ता लगाएका छन् । झापाको जामुनखाडीमा उनले पत्ता लगाएको सानो भ्यागुताको वैज्ञानिक नाम माइक्रोहाइला तराइन्सिस हो । धानबारीमा पाइने यो भ्यागुता मान्छेको बुढीऔँलाको नङको आकार बराबर हुने खतिवडाले कान्तिपुरलाई बताए । त्यसैगरी उनले इलामको माइपोखरीमा छेपारोजस्तै देखिन अर्को नयाँ प्रजातिको भ्यागुतो पनि पत्ता लगाएका छन् । ठकठके स्थानीय नाम रहेको यो नयाँ प्रजातिको भ्यागुताको वैज्ञानिक नाम ट्य्लोटोट्रिटोन हिमालयनुस रहेको छ । नेपालमा ५२ प्रजातिका भ्यागुता रहेकोमा खतिवडाले नयाँ दुई प्रजातिको पत्ता लगाएपछि ५४ प्रजातिका भ्यागुता नेपालमा रहेको प्रमाणित भएको छ ।
खतिवडाले विशेषगरी भ्यागुताको डिएनए, भाले भ्यागुताले कराउँदा निकाल्ने आवाज र शारीरिक बनोटको अनुसन्धान गरेर नयाँ प्रजाति पत्ता लगाएको बताए । उत्कृष्ट खोज अनुसन्धान गरेको भन्दै सन् २०१७ का लागि उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा उनलाई युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस युकासले पुरस्कृत गरेको हो ।
युकासकै बेइजिङको ह्वाइरोस्थित कलेज अफ अर्थ साइन्सबाट भूगर्व विज्ञानमा पिएचडी गरेका भूपति न्यौपाने पनि उत्कृष्ट दस विदेशी विद्यार्थीमा परेका छन् । त्यसैगरी युकासको चीनको युन्नान प्रान्तको खुन्मिङ इन्स्टिच्युट अफ जुलोजीबाट पिएचडी गरेका नारायणप्रसाद कोजु पनि उत्कृष्ट दस विदेशी विद्यार्थीमा परेका छन् । युकासअन्तर्गत रिसर्च सेन्टर फर इको इन्भारोमेन्ट साइन्सबाट वातावरण विज्ञानमा पिएचडी गरेकी टिष्टा प्रसाईं पनि २० जना उत्कृष्ट विदेशी विद्यार्थीमा परेकी छन् । युकासले यो वर्ष पिएचडी गरेका सयौँ विद्यार्थीबाट जम्मा दसजना छनोट गरेकोमा जनकराज खतिवडा, भूपति न्यौपाने र नारायणप्रसाद कोजु तीनजना नेपाली परेका छन् । अहिले पिएचडी गरेका विद्यार्थीहरु सन् २०१३ मा भर्ना भएका हुन् । त्यतिबेला उकासमा १२९ जना विदेशी विद्यार्थीहरु भर्ना हुँदा नेपाली विद्यार्थीको संख्या १० जना थियो भने पाकिस्तानी विद्यार्थीको संख्या ५९ थियो । भर्ना हुँदा ६ प्रतिशत नेपाली विद्यार्थी थिए भने अहिले उत्कृष्ट १० विदेशी विद्यार्थीमा तीनजना नेपाली परेका छन् । यो दर ३३ प्रतिशतभन्दा बढी हो ।
चीनमा छात्रवृत्तिमा पाएर अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुमा नेपाली विद्यार्थीको स्थान नवौँ रहेको छ । सन् २०१५ मा चीनमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या तीन लाख ९७ हजार ६ सय ३५ रहेकोमध्ये छात्रवृत्तिमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ४० हजार ६ सय रहेको छ । चीनमा सबैभन्दा धेरै छात्रवृत्ति पाउनेमा पाकिस्तान पहिलो स्थानमा छ भने दोस्रो स्थानमा मंगोलिया र तेस्रो स्थानमा भियतनाम रहेका छन् । त्यसैगरी चौथोदेखि दसौँसम्म क्रमश: रुस, थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका, लावोस, नेपाल र कजाकस्तान रहेका छन् ।
नेपाली विद्यार्थीको उत्कृष्ट नतिजाले चीनमा समग्र नेपालीको इज्जत बढाएको छ । नेपाली विद्यार्थीको खोज अनुसन्धानमा मिहिनेत र सफल नतिजाले चिनियाँ विश्वविद्यालय र प्राध्यापकहरुलाई प्रभाव पारेकाले आगामी समयमा चीनमा छात्रवृत्तिमा अध्ययन गर्न नेपाली विद्यार्थीलाई अझै सजिलो बनाएको बसन्त पौडेलले बताए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles