अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयरल्यान्डलाई टेस्ट टिमको मान्यता दीयो

द्वारा : सुदुर न्युज

असार १०, २०७४- सन् २०१९ मा आयरल्यान्डको लक्ष्य छ, इङल्यान्डविरुद्ध लर्डस मैदानमा टेस्ट खेल्ने । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयरल्यान्डलाई टेस्ट टिमको मान्यता दिएपछि उसको यो लक्ष्य अगाडि आएको हो । धेरै वर्षको मिहिनेतपछि आयरल्यान्डसँगै अफगानिस्तानले बिहीबारमात्र टेस्ट टिमको मान्यता पाएका हुन् । यससँगै उनीहरूले पाएका छन्, अतिरिक्त सहयोग रकम र त्योभन्दा ठूलो मतदानको अधिकार । सम्भवत: अर्को वर्ष आयरल्यान्डले पहिलो टेस्ट खेल्नेछ अफगानिस्तानविरुद्ध ।

तुरुन्तै सुरक्षाका कारणले अफगानिस्तानले घरमै टेस्ट खेल्न पाउने छैन । बरु त्यसको स्थानमा अफगानले दुबईलाई आफ्नो घर बनाएको छ । आयरल्यान्डले भने अहिले तत्काल लर्डसमा खेल्ने सपना बुनिरहेको छ, जुन आइरिस क्रिकेट इतिहासको सबैभन्दा ठूलो खेल हुनेछ, त्यसमा शंका छैन । आयरल्यान्डले पछिल्लो मे महिना लर्डसमा वान डे खेल्दा २५ हजारभन्दा बढी टिकट बेच्न सफल रहेकाले पनि उत्साहित भएको हो । सँगै आयरल्यान्डलाई विश्वास छ, अब आफ्ना प्रतिभाशाली खेलाडीहरू इङल्यान्डमा पलायन पनि हुने छैनन् ।

सम्भवत: यसले आइरिस खेलाडीलाई समस्या पनि हुनेछ । किनभने अबदेखि उनीहरू विदेशी खेलाडीको गन्तीमा पनि आउन सक्छन् । तर आइरिस क्रिकेट बोर्डले मानेको छ, कम्तीमा टेस्ट मान्यता पाएयता पलायन हुने आफ्ना खेलाडीमा कमी आउने छ, रोक्न त कहिल्यै पनि सकिने छैन । यता आईसीसीले पनि आफ्ना सदस्यलाई दिने अनुमानका लागि नयाँ मोडल तयार पारेको छ । त्यसअनुसार भारतले अर्को आठ वर्षमा ३१ करोड ७० लाख पाउन्ड पाउने छ ।

इङल्यान्डले १० करोड ९ लाख पाउन्ड प्राप्त गर्नेछ भने अरुले १० करोड पाउन्डको हाराहारीमा । अनि आयरल्यान्ड र अफगानिस्तानले आउने ८ वर्षमा पाउने छन्, तीन करोड पाउन्डभन्दा बढी । आईसीसीले आयरल्यान्ड र अफगानिस्तानलाई टेस्ट मान्यता दिनु पछाडि उनीहरूले आफ्ना आधारभूत सर्त पूरा गरेको पनि जनाएको छ, टिटरको माध्यमबाट । त्यसकै स्वागतमा आइरिस क्रिकेट खेलाडी ग्यारी विल्सनले लेखेका छन्, ‘ऐतिहासिक दिन ।’

लामो समयको प्रतीक्षापछि आईसीसीले विश्व टेस्ट क्रिकेटको आकार फैलाउने गरेको निर्णयलाई धेरैले स्वागत पनि गरेका छन् । यसलाई विश्व क्रिकेट इतिहासकै एउटा ठूलो दिन पनि मानेका छन् । यसै निर्णयपछि यी दुई देश क्रमश: ११ र १२ औं टेस्ट टिम भए । अन्यथा विश्व क्रिकेटलाई धेरै रुढीवादी र केही सीमित देशमै अल्झिएर रहने खेलका रूपमा हेरिरहेको थियो । आयरल्यान्ड मात्र होइन, पछिल्लो समय अफगानिस्तानले पनि क्रिकेटमा ठूलो छलाङ मारेको छ । यसको पछिल्लो उदाहरण त इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई अफगान खेलाडीको प्रवेश र उनीहरूको राम्रो प्रदर्शन नै पर्याप्त छ । अफगानी क्रिकेट बोर्डले पनि आईसीसीको निर्णयलाई ऐतिहासिकताको संज्ञा दिएको छ । टेस्ट खेल्ने पाँचौं एसियाली देश हुने अफगानिस्तानको दाबी छ– ‘टेस्ट क्रिकेटमा पनि हामीले बलियो चुनौती पेस गर्न सक्नेछौं ।’ राम्रो टिमतर्फ अग्रसर हुने पाइला कहिल्यै पनि रोकिने छैन, आत्मविश्वासी अफगान क्रिकेटको दाबी छ ।

 

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com