देशभरी नागपञ्चमी मनाइदै, नागपञ्चमीको महत्व र इतिहास

द्वारा : सुदुर न्युज
Nag Panchami

महेन्द्रनगर , २० साउन।

साउन शुक्ल पञ्चमीका दिन आज सोमबार सर्वत्र नाग पूजा गरी मनाइँदै छ । नागको पूजा अर्चना गरिने दिन भएकाले नै यो दिन नागपञ्चमी कहलिएको हो । वर्षाले गिलो भएको जमिनबाट ओभानो स्थानमा नाग आउने जोखिम भएकाले यो दिन नागको पूजा गरी मनाउने गरिएको विश्वास गरिन्छ ।
हिन्दु धर्मका शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म यी आठ नागको विशेष वर्णन गरिएको छ । नागपञ्चमीमा यिनै नागको स्मरण गर्दै पूजाअर्चना गर्ने प्रचलन छ ।

काठमाडौँ सिनामङ्गलका कर्मकाण्डी व्राह्मण मनोज भण्डारीका अनुसार हरिशयनी एकादशीका दिन नारायण शेषनागमा जलशयनी हुने र हरिबोधनीका दिन जलबाट धर्तीमा आउने गर्छन् । यस अवसरमा चोखो कपासको नाग बनाएर इनार, कुवा, दह, खोलालगायतका पानीका स्रोत नजिकै पूजा गर्ने परम्परा रहिआएको छ । यस्तै घरको प्रवेशद्वारमा नागको तस्बिर टाँस्ने र दुबो, दूध चढाएर धूप धुँवार गर्ने चलन पनि छ ।

भक्तपुर चाँगुनारायणस्थित कलामसी–८ मा रहेको पाँचटाउके कल्पेश्वर नाग, काठमाडौँमा भचाखुसीमा रहेको घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, ठमेल गल्कोपाखाको हरिनाग, थानकोटको नागढुङ्गा, टौदह, टुँडिखेलको मीननाग र पुशपतिनाथका द्वारपालका रूपमा पूज्य वासुकी नागको यो दिन भव्य पूजा गरिन्छ । यी नागको अर्चना गर्दा वर्ष दिन सहरवासीलाई नागदोषले पिरोल्दैन भन्ने मान्यता रहेको वटु नाथेश्वर गुठीका भाइकाजी महर्जन बताउनुहुन्छ । यी नागमा पञ्चमीका दिनबाहेक पनि अर्चना गर्ने गरिँदै आएको छ ।

समाजसेवी पवन तण्डुकारका अनुसार नक्सालस्थित नागपोखरीमा स्थानीय युवाले यसलाई महोत्सवकै रूपमा मनाउँने गर्छन् । कल्पेश्वर नाग कलमसीमा पनि नाग महोत्सव आयोजना गरिएको छ, यहाँ नागचित्र कुँदिएको २७ वटा ढुङ्गेधारा बनाउने योजना रहेको वडा अध्यक्ष परासर सापकोटाले जानकारी दिनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक एवं नास्टका प्रवक्ता डा. सुरेश ढुङ्गेल भन्नुहुन्छ, “मानव सभ्यताको विकास क्रमसँगै मानिसलाई नागले त्रास दिलाएकाले यसको पूजा गर्ने चलन बसेको हो । आगो, पानी, वायुलगायतबाट पनि मानिसलाई त्रास भयो, ज्यानै जानेसम्मका घटना हुँदै गएकाले लेखपढ गर्ने मानिसको कमी भएको बेला जान्नेले यसबाट बच्न र समाजमा पर्यावरणीय सन्तुलनको चेतना जागृत गराउन यस्तो पूजाअर्चनाको चलन बसेको हो । ”

पुरातत्व विभागका महानिर्देशक एवं पुरातत्वविद् दामोदर गौतमका अनुसार पानीमा नाग रहन्छ, पानी सबैलाई चाहिन्छ, यसैले ढुङ्गेधारा, कुवा, इनार बनाउँदा पानीका स्रोत स्थानमा पुर्खाले कलात्मक नागचित्र बनाउने गरेका हुन् । “नाग त पानी नभएको स्थानमा पनि हुन्छ, यो परम्परागत विश्वासका आधारमा मात्र बनेका हुन्, यसो भए पनि यो कला अनुपम र पुरातत्विक महत्वका सम्पदा बन्नपुग्यो”, उहाँको भनाइ छ ।

Nag Panchami

ज्योतिषशास्त्रमा कालसर्प योगको चर्चा भए पनि केहीले भ्रामक रूपमा प्रचार गरिरहेका छन् । ज्योतिषी होमराज सुवेदी (जयबागेश्वरी)ले नक्षत्र विज्ञानअनुसार भरणी नक्षत्रका देवता काल र अश्लेषा नक्षत्रका देवता सर्प मानिएकाले कालसर्प योगको चर्चा आएको हो । राहु र केतुभित्र सम्पूर्ण ग्रह अटाउँदा कालसर्प योग बन्छ, राहु केतुलाई छोडेर कुनै ग्रह बाहिर बस्छ भने आंशिक कालसर्प योग बन्छ भने पूरै भित्र रहँदा पूर्णकाल सर्पयोग बन्छ ।
जन्मकुण्डलीमा नै नागदोष भएकाले यो दिन नागको पूजा गर्दा राम्रो हुने ज्योतिषी डा. सुनील सिटौला बताउनुहुन्छ । पशुपतिनाथका द्वारपाल वासुकीमा पुजारीले दिनरात थाल ठटाएर वासुकीलाई जागा गराउने भएका छन्, यी वासुकी सुस्तश्रवणका छन् भन्ने मान्यता छ । काठमाडौँ न्युरोड सिद्धिचरणचोक छेउ दफ्तरमा रहेको नागदेवतामा पनि सोमबार भव्य पूजा हुँदै छ ।

राजा गुणकामदेवका पालाअघि नै यो नाग दफ्तरमा रहेको अनुमान छ । स्थानीय ६५ वर्षीय धर्म शाहीका अनुसार यो नाग साक्षात् नाग मानिन्छ । दफ्तर क्लबका अध्यक्ष राकेश शाहीले यो नागको भव्य पूजन हुँदै आएको जानकारी दिँदै नागमा जुठोपुरो राख्दा अनेक रोग लाग्ने गरेको र नाग देवतामा जथाभावी गर्नै नहुने अनुभव सुनाउनुभयो, डडेलधुराको नाग आकृतिको नागेश्वर महादेवमा यो दिन भक्तजनको मेला लाग्छ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy