31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

असौज १ गते : सुदुरपश्चिमको बुढी पोल्ने संस्कृति

धनगढी असोज ०१ ।

सुदूरपश्चिम संस्कृतिका र पर्यटनका हिसावले निकै नै समृध्द क्षेत्रका रुपमा चिनिन्छ। एक वर्षभरि बाह्रै महिनामा केही नकेही चाडपर्व परेकै हुन्छन्। तर अक्सर ठूला पर्वहरु फुर्सदको समयमा तोकिएका छन्। कामकाजको चाप नभएका फुर्सदिला महिनाहरुमा मनोरञ्जनका लागि तय गरिएका हुनु पर्छ हाम्रा कैयौ चाड पर्वहरु । त्यो समय अहिलेको जस्तो थिएन समय बिताउनका लागि । अहिले मनोरञ्जनका साधनहरु धेरै नै भित्र्याइसक्याे प्रविधिले । एक्लै समय ब्यतित गर्न रमाइरहेका हुन्छन् अहिलेका मान्छेहरु ।

पर्मा, अ‍ैचो पैचोदेखि लिएर सामाजिक कार्यमा सरिक हुने खालका कैयौ कार्यहरु हुन्थे उतिबेला । हरेक क्षण जरुरत परिरहन्थ्यो छिमेकीको । त्यहाँ नैतिकताका पाटा थिए, स्वाभिमान र इमान्दारीका पाटा थिए। माानबीय संवेदनाको पक्ष निकै नै प्रवल थियो । हाम्रा पूर्वजहरु आफ्नै मूल्य मान्यताभित्र अभावमा पनि आनन्दको जिन्दगी बिताउँथे । उसै पनि हरेक महिनाका संक्रान्तीहरु एक प्रकारका पर्व जस्तै मानिन्थे। हरेक संक्रान्तीमा बिहान सबेरै उठेर नुहाएर बास उठाल्ने भन्थे । बास उठाल्नु भनेको तेलमा पक्वान पकाउनु हो । यी पक्वानमा बढीजसो पुरी सेल र चामलको पिठो मुछेर ध्यूमा पकाउँथे । जसलाई शैया भनिन्छ। यसरी पकाएको पक्वान देवता र पितृको भाग छुट्याइ सकेपछि मात्र खाने गरिन्थ्यो ।

अहिलेको जस्तो आधुनिक पध्दति थिएन कृषि क्षेत्रमा पनि । प्रायजसो भाद्र अन्तिमतिर फलिसकेका हुन्थे काक्रा । तर त्यो फल्ने क्रम सुरुवातिकै क्रम हुन्थ्यो । त्यसैले गर्दा जसको बारीमा काक्रा फलेका छन् त्यही चोर्न जान्थे केटाकेटीहरु ।  तिनै ससाना काक्रा लगेर जाने चलन थियो बुढी पोल्न जादा । त्यो चलन आज पनि छ । फरक यत्ति हो हिजो आज काक्रा जुनसुकै मौसममा पनि पाइन्छन् । काक्राको अभाव हुँदैन । आश्विन संक्रान्तिका दिन पाँचवटा प्रजातिका बिरुवाका हाँगा काटेर ल्याउछन् र चुल्ठी बनाउँछन् ।

ती बिरुवाहरु ठाउँ अनुसार फरक हुन्छन् । सबै जिल्लामा सबै गाउँमा उस्तै खालका हुँदैनन् । यसरी बनाइएको चुल्ठीले गोठका उनाकुनामा झाडो लगाएझै गर्छन्। जसलाई बुढी लखेट्ने पनि भनिन्छ। गोठबाट लखेट्ने बुढी भनेको रोगब्याध हो । यसरी झाडो लगाएपछि गाईबस्तुलाई रोग लाग्दैन भन्ने मान्यता छ।


भाद्र संक्रान्तिका दिन ससानो रुख वा रुखको ठुलो हाँगा काटेर वा बासको लिङ्गो बनएर दोबाटो अथवा अन्यत्र कतै गाड्ने चलन छ । उक्तस्थान हरेक वर्ष एउटै हुन्छ । परिवर्तन हँदैन । उक्त लिङ्गो ठड्याएको ठाउँमा प्रत्यक दिन गोठालाहरु रुखका हाँगा काट्दै थप्दै गर्ने गर्छन् । बढी जनसंख्या भएको गाउँको बुढी निकै ठूलो र अग्लो देखिन्छ। यसरी एक महिनासम्म थुपार्दै जान्छन् रुखका हाँगा र अन्य बनस्पति ।

द्वापर युगमा कंशले आफ्ना भन्जा भगवान् कृष्णलाई मार्न पुतना नामकी राक्षसनीलाई पठाएका थिए। राक्षसनी पुतनाले आफ्नो स्तनको टुप्पोमा बिषलेपन गरी भगवान् कृष्ण एक्लै भएको मौका छोपी मार्ने हेतुले दूध पिलाउन लाग्दा भगवान् कृष्णले पुतनाको सारा दूध मात्र नभई अन्तमा रगत समेत चुसे पछि पुतनाले देहत्याग गरीन् ।

तिनै पुतनालाई जलाउन विजयोत्सव गरियो । यही खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिलामा बुढी पोल्ने चलन चलेको जनविश्वास रहेको छ । कतैकतै यो पर्वलाई बुन्ढुनी पर्व पनि भनिन्छ ।  साँझ अँध्यारो भैसकेपछि अर्थात आकाशमा तारा देखापरेपछि हातमा राँको लिएर निस्कन्छन् गाउँका केटाकेटी युवा युवतीहरु र बुढीका पुतला दहन गर्ने गर्दछन् । यसरी दहन गरीसकेपछि ।

पुरै जल्न नसकेको बीचको लिङ्गो उखालेर फाल्छन् । यसरी लिङ्गो फाल्दा कसैले फलाना गाउँका मुखिया मेरो लुतो लैजा भनेर स्वरमा स्वर मिलाउँदै कराउछन् । कुनै ठाउँमा फलानो गाउँको कामी मेरो लुतो लैजा भन्छन् । यसलाई मनन गर्दा एक गाउँका मान्छेले अर्का गाउँका प्रति आक्रोस ब्यक्त गरे जस्तो पनि देखिन्छ । गाउँमा मुखियाको अतिबादी शैलीको बिरोध पनि हो उक्त नारा । तर ती कामी जातीका लाई किन भन्न थाले यो अध्ययन अनुसन्धानकै पाटो बनेको छ ।

बुढी पोली सकेपछिको खरानी लगेर गाईलाई लगाउने चलन पनि छ । फर्किदा हातहातमा लगेको काक्रो बाडिचुँडी खाने गर्दछन् । हाम्रा संस्कृतिका पाटाहरुबाटा जीवनमा खुसी उमंगका साथै केही नैतिकताको पाठ पनि सिक्न सकिन्छ । तर त्यसैभित्र केही बिकृति अथवा खराव पक्ष पनि नभएका हैनन् । ति बिकृतिलाई हटाउनु आवश्यक देखिन्छ। 

-दिनेश खबर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles