31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

आजदेखि गौरा पर्व सुरु, सुदुरपश्चिमको सास्कृतिक पहिचान बोकेको पर्ब

कञ्चनपुर, भदौ १५ ।

प्रदेश नम्बर ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।

पहिलो दिन : पञ्चमी

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ । 

यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति ९धान, साँउ, तिल, बेल र पातीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् ।

विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुष सरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

तेस्रो दिन : सप्तमी

सप्तमीका दिन महिलाले दिनभरि ब्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको स्थानीय पण्डित धर्मान्द जोशीले बताए ।

सात गाँठो पारिएको दुर्वा सहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ ।

अन्तिम दिन : अष्टमी

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् ।

यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाईलो गर्ने गरिएको स्थानीय शिक्षक भरतबहादुर ऐरले बताए ।

गौरा पूजा गरी सकेपछि झाँकी सहित पञ्च वनस्पतिबाट बनाईएको गौराको प्रतिमालाई झाँकी सहित विसर्जन गरिने उनले जानकारी दिए । गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ ।” यो पर्व प्रदेश नं ७ सहित भारतको कुमाँउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाईने गरिन्छ । -रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles