26.8 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

घटाल देवताका पुजारी खड्काले छाउगोठ भत्काए, कुप्रथाविरुद्धको अभियानमा साथ

बाजुरा, वैशाख १६ गते ।

बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काउनुभएको छ ।

धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताउनुभएको छ ।

नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनाइ छ ।

पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उहाँले बताउनुभएकोे छ ।

सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ ।

छाउगोठ धामी, झाँक्री र पुजारी भएको घरमा बढी देखिएको पिसविन आस्था परियोजनाका अधिकृत तुलाराम जैशी बताउनुहुन्छ । पुजारी स्वयंले गोठ भत्काएर घरमा बसाउन तयार भएपछि स्थानीयवासी पनि त्यसै गर्न मञ्जुर भएका छन् ।

महिनावारी भएको बेला काम गर्नसमेत जान नपाइने अवस्थामा पनि सुधार आएको नगर उपप्रमुख कविता विष्ट जानकारी दिनुहुन्छ । नगरपालिकाका नौवटै वडामा महिलासँग उपप्रमुख कार्यक्रमले छाउ, बाल विवाहलगायतका सामाजिक कुप्रथाको विरुद्धमा सचेतनामुलक अभियान सञ्चालन भइरहेको छ ।

धामीझाँक्री पुजारी तथा ब्राह्मण सबैलाई एकैठाउँ राख्ने, गोठ भत्काउन लगाउने र छाउजस्ता कुप्रथा नमान्न शपथ गराउने गरिएको छ । आजै छाउगोठको अवस्थाबारे नगरपालिकास्तरीय संयन्त्रले अनुगमन गरेको छ । छाउगोठको अवस्था, स्थानीयवासीको धारणा र महिला सुरक्षाबारे जानकारी लिन सर्वपक्षीय संयन्त्रबाट अनुगमन गरिएको हो ।

नगर उपप्रमुख विष्टको नेतृत्वमा रहेको टोलीले गोठ भत्काइएपछि महिनावारी भएका महिला बस्ने स्थान र गोठको अवस्थाबारे शुक्रबार जानकारी लिएको छ । गोठ देखावटी रुपमा भत्काउने र अवस्था पुरानै देखिए नगरपालिका र वडा कार्यालयले दिने सुविधा रोक्ने निर्णय गरेको छ ।

शुक्रबार अनुगमनका क्रममा महिला, सासू–ससुरा, धामीझाँक्री, पुजारीलगायतका व्यक्तिसँग प्रत्यक्ष छलफल तथा अन्तक्र्रिया गरिएको टोलीमा सहभागी सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताउनुभएको छ ।

टोलीमा नगर उपप्रमुख विष्ट, वडाध्यक्ष वीरबहादुर रावलसहित वडा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय धामीसहितको सहभागिता थियो।

वडाका धामीझाँक्रीलाई अभिमुखीकरण

बडीमालिका नगरपालिका–३ का वडामा रहेका विभिन्न देवताका धामीझाँक्री र पुजारीका लागि शनिबार अभिमुखीकरण गोष्ठी आयोजना गरियो ।

नगरपालिका–३ का स्थानीय धामीझाँक्री, पुजारी र पुरोहितहरु छाउपडी प्रथाको विभेद हटाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । बडीमालिका नगरपालिका महिलासँग उपप्रमुख कार्यक्रमको वडास्तरीय धामीझाँक्रीसँगको एकदिने अभिमुखीकरण कार्यक्रममा उनीहरुले छाउपडी गोठ मुक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

वडामा भएका छाउगोठलाई अन्त्य गर्देै छाउ भएका महिलालाई घरभित्र राख्न सहमत भएको धामी बलबहादुर रावलले बताउनुभएको छ । उहाँका अनुसार छाउ हुनु कुनै पाप नभएकाले सरसफाइ भएर घरभित्र बस्दा कुनै समस्या नहुने हुँदा आगामी दिनमा छाउ भएका महिलालाई गोठमा नराख्ने बचन दिनुभएको छ ।

वडामा रहेका प्रत्येक टोलमा छाउगोठ निर्माण गरिएकाको वडाको निगरानी समूह र वडाका महिला, धामीझाँक्री र वडा कार्यालयको सक्रियतामा भत्काएर वडालाई स्थानीय तहको पहिलो छाउपडी गोठमुक्त घोषणा अभियानलाई सहयोग गर्ने धामी जयलाल ल्वारले बताउनुभएको छ ।

वडामा छाउगोठ भएको पाइएमा वडा कार्यालयबाट दिने सेवा सुविधा, नागरिकता, जन्मदर्ता, सिफारिसलगायतका सुविधा रोक्ने वडाध्यक्ष वीरबहादुर रावलको भनाइ छ ।

२० गते घोषणाको तयारी

बडिमालिका नगरपालिका–३ रजालीलाई यही वैशाख २० गते छाउपडी गोठ मुक्त वडा घोषणा गरिने भएको छ । गाउँमा भएका सबै छाउगोठ भत्काएर स्थानीय घरमै बस्न थालेपछि यो घोषणा गर्न लागिएको हो ।

बडिमालिका–३ रजालीलाई नगरपालिकाकै पहिलो वडाका रुपमा घोषणा गर्न लागिएको नगरउपप्रमुख विष्टले जानकारी दिनुभएको छ । नगरपालिका र वडा कार्यालयको अगुवाइ पिसविन आस्था कार्यक्रम र सहयोगी हातहरुको समूह सहास नेपालको सहजीकरणमा सो घोषणा गर्न लागिएको विष्टको भनाइ छ ।(रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles