41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

रामनवमी महोत्सव र जनकपुरको राममन्दीरको इतिहास

हिन्दु संस्कृतिमा हरेक दिनको आ–आफ्नै महत्व रहे पनि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्म दिन (शुक्ल नवमी तिथि) हरेक हिन्दुका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले लाखौँ नरनारी रामनवमीको दिन व्रत बसेर आत्मशुद्धि र मोक्ष प्राप्तिका लागि भगवान् श्रीरामको पूजाअर्चना गर्छन् ।
सम्पूर्ण आर्यावर्तको राम मन्दिरहरूमा लाखौंको सङ्ख्यामा यात्रीहरूका भीड रहेता पनि प्राचीन मिथिलाको राजधानी जनकपुुरधामको राम मन्दिरको आफ्नो विशिष्ट स्थान रहेकाले रामनवमीको अवसरमा स्थानीय रत्नसागर आदि पवित्र सरोवरमा स्नान गरेर राम जानकी मन्दिरमा ठूलो सङ्ख्यामा पुग्ने गरेकोमा हाल यातायातको बढी भएकोले रामनवमीको अवसरमा एक दिन मात्र ठूलो भीड हुन्छ ।
अद्र्धशताब्दी पूर्वसम्म मार्गशुक्ल पञ्चमीमा विवाह पञ्चमी मेला र चैत्रशुक्ल नवमी रामनवमीको अवसरमा तिरहुतिया गाछीमा ठूलो मेला लाग्थ्यो र लाखौँको भीड हुने गथ्र्यो । अवागमनको असुविधा भए पनि धनुषा, महोत्तरी र सर्लाहीका मात्र होइन सिन्धुली, रामेछाप, उदयपुर र ओखलढुङ्गासम्मका मानिस ठूलो सङ्ख्यामा सहभागी हुने गर्छन् । जनकपुुरधाममा अनेक मठमन्दिर छन् र त्यसमा राम मन्दिर सबैभन्दा प्राचीन छ । परम्परागत भनाइअनुसार त्रेतामा मर्यादा पुरुषोत्तम श्रीराम र जनकनन्दनी जानकी (सीता) को विवाहपछि सीताराम अयोध्या जान लाग्दा राजर्षि जनकले पुत्री मोहमा निकै दुःखित हुँदा मर्यादा पुरुषोत्तमले विश्वकर्माजीलाई राम मन्दिर बनाउन लगाएका थिए, जहाँ पलक उठाउँदामै उनका साक्षात दर्शन उहांँले गर्नुहुन्थ्यो ।
मन्दिरमा तीन वटा मूर्ति छन् । प्रथम सीतासहित भगवान् श्रीराम चारै भाइ गरी पांँच जनाको पञ्चायतन मूर्ति, दोस्रो लक्ष्मीनारायण र तेस्रो दशावतारको तीन प्रमुख मूर्ति छन् । त्यसको साथ दोस्रो पङ्क्तिको उत्तरतिर बद्रीनारायण र दक्षिणतिर महामायाको मूर्ति छन् । प्राचीन राम मन्दिर कालक्रमेन ध्वस्त भइसकेपछि त्यहाँ वटवृक्ष उगेर विशाल बन्न गएको थियो।
भारतको उत्तराखण्डको बद्रीका आश्रमका जगत्गुरु शङ्कर स्वामीका तेस्रो शिष्य आनन्द गिरीका शिष्य दुर्गानाथ गिरीका शिष्य चतुर्भुजनाथ गिरिलाई मिथिला दर्शनको विचार जागृत भएपछि उहाँ सन् १४०८ ई. को महाभूकम्पले खण्डहर भइसकेको जनकपुुरधाम पुगेर धनुषसागरमा स्नान गरी वटवृक्ष तल सुतेका थिए । उहाँलाई भगवान् श्रीरामले दर्शन दिनु भई त्यहीँ उनको मूर्ति पुरिएकोले त्यसलाई उत्खनन गरी पूजाअर्चना गरेमा मानिसको मनोरथ पूरा हुने बचन दिनुभएको थियो ।
महात्मा चतुर्भुजनाथ गिरिले भोलिपल्ट त्यहाँ उत्खनन गर्दा तीन वटा मूर्ति भेटाएका थिए । जसमध्ये प्रथम सीताराम चारै भाइसमेतको पञ्चायतनमूर्ति, लक्ष्मीनारायण र भगवान्को दशावतार रहेको थियो । सिद्ध सन्तले मूर्ति भेटाएपछि पूजा के ले गर्ने अप्ठ्यारो पर्नेछ विचार्दैमा जङ्गलमा गाई चराउने ग्वालाहरूले मसित रहेको चामल र गुड छ, त्यसले पूजा गर्नोस् भनेपछि उहांँले पूजा आरम्भ गर्नुभएको थियो ।
सिद्ध महात्माको पुजनले टाढा–टाढाका मानिसहरू पुग्न थालेकाले पछि मकनवानपुरका सेन वंशीय राजा मानेक सेनले अष्टदलमा चौध सय विघा जग्गा प्रदान गर्नुभएको थियो । जसलाई पछि राजा हेमकर्ण सेनले बढाएका थिए । त्यो हिजेरी सन् १११४ मा प्रदान गरिएको थियो ।
शाहकालीन प्रताप सिंह शाहको शासन कालमा १८३१ सालमा महन्थ रेवा गिरीलाई सेन राजाबाट प्रदान गरिएको जग्गाको संपुष्टि गरिएको थियो । त्यस बेलासम्म मिथिलाका नागरिक शाह वंशीय राजालाई स्वीकार गर्न नसकेर कर तिर्दैन थिए । त्यसैले रणबहादुर शाहको शासनकालमा सेनापति अमरसिंह थापाले राम मन्दिर पुनःनिर्माणका लागि भनेर जनताबाट रकम उठाएर १८३९ साल फाल्गुण कृष्ण द्वितीया बुधवारको दिन पूजाअर्चना आरम्भ भएको थियो ।
राम मन्दिरको महन्थको परम्परामा चतुर्भुज गिरीपछि रवा गिरी, अम्बर गिरी, अभिलाख गिरी, वसन्त गिरी, विश्वेश्वर गिरी, ईश्वर गिरी, रामलोचन गिरी, रमानन्द गिरी, विश्वनाथ गिरी, अमर गिरी, सन्झा गिरी हुंँदै अहिले राम गिरी महन्थ हुनुहुन्छ ।
विश्वेश्वर गिरीको समय राम मन्दिर निकै प्रसिद्धि पाएको थियो, उहांँले काठमाडौँबाट मिथिला महात्मय र जनकपुरस्य तीर्थादी दुई वटा पुस्तक १९५८ सालमा प्रकाशित गराएर भारतीय तीर्थ स्थलमा दूत पठाएर प्रचारप्रसार गर्दा यात्रीको सङ्ख्या बढ्न थाल्यो तर उनले राणाकालमा ल्याउन खोजेको धार्मिक जागरणले भयभित सत्ताधारीले उनलाई सहन गर्न नसकेर पक्राउ गर्ने सुनेपछि पूजा पाठ गर्नु सट्टा मन्दिर छाडेर बद्रिकाश्रम लाग्नुभएका थियो ।
२०६६ सालमा रामनवमीको अवसरमा पहिलोपटक पुगेका नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले दर्शनपछि मन्दिरको अवस्था जानकारी गर्दा चुहिरहेको थाहा पाएर प्रधानमन्त्री र सरकारका अन्य मन्त्रीलाई भनेपछि अहिले त्यसको पुनःनिर्माणको कार्य भइरहेको छ तर पूर्णता पाएको छैन ।
वर्तमान जनकपुरधामको सबैभन्दा पुरानो सांस्कृतिक महत्वको राम मन्दिरको संरक्षण अत्यावश्यक छ । यस दिशामा सम्बद्ध सबैले ध्यान दिनुपर्छ र विश्वभरिकै हिन्दुका पवित्र तीर्थ स्थल राममन्दिर र जानकी मन्दिरलाई पशुपति र लुम्बिनीजस्तै अझ आकर्षक बनाउने इमानदार सतप्रयास हुनुपर्छ । यस दिशामा राम मन्दिरको जग्गा बिक्रीबाट गुठी संस्थानमा रहेको करोडौँ रुपियाँ राम मन्दिरकै विकासमा लगाउनु आवश्यक छ ।
अन्यथा अर्बौं रुपियाँको श्रीसम्पत्ति भएर पनि सुनसान उजाड बन्दै गएको राम मन्दिर र राजर्षि जनककै भूमिको प्रमुख जनक मन्दिर रत्नसागर र अग्निकुण्ड स्थानकै दूरावस्थामा जाने बेर लाग्दैन । अतः प्रदेश सरकारले विशेष योजनाको साथ अगाडि बढ्नु आवश्यक छ ।

राजेश्वर नेपाली – गोरखापत्र

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles